काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सूचीमा उज्यालो नेपाल पाटीको कोटाबाट परेकी गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उनले आफूलाई उज्यालो नेपाल पार्टी (रास्वपा)बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु सम्मान र जिम्मेवारीको विषय भएको उल्लेख गरेकी छन् । तर, गहन आत्ममूल्यांकनपछि राजनीतिक उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेको स्पष्ट पारेकी छन् ।
उनका अनुसार यो निर्णय कुनै असन्तुष्टि वा अस्वीकार होइन, बरु आफ्नो पेशागत जिम्मेवारीप्रतिको प्रतिबद्धता र दीर्घकालीन सामाजिक योगदानको मार्ग रोजाइ हो । ‘कला र स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने मेरो दृढ संकल्प नै यस निर्णयको मूल कारण हो ।’ उनले लेखेकी छन् ।
डा. गुरुङले पार्टी नेतृत्वले देखाएको विश्वास, सम्मान र समर्थनप्रति आभार व्यक्त गर्दै त्यो भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता पनि जनाएकी छन् । राजनीतिक पदमा नरहे पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा सक्रिय रहने उनको भनाइ छ ।
डा. गुरुङले अन्त्यमा पार्टीको भावी यात्राका लागि शुभकामना दिँदै लोकतान्त्रिक अभ्यास र समावेशी प्रतिनिधित्वको प्रयास सफल होस् भन्ने कामना गरेकी छन् ।
गुरुङको नाम रास्वपाको बन्द सूचीको १९ नम्बरमा रहेको छ । आदिवासी जनजातितर्फ महिलाको पाँचौँ नम्बरमा उनको नाम छ ।
रास्वपाको बन्द सूचीमा आदिवासी जनजातितर्फ ९ नम्बरमा नाम रहेका टासी लाक्पा शेर्पाले पनि यस अघि नै आफूले बन्द सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।
बिहीबार मात्रै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू दलगत राजनीतिमा रुचि नराख्ने भएकाले बन्द सूचीबाट नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, ‘आगामी निर्वाचनमा सम्पूर्ण राजनीतिक दल तथा योग्य उम्मेदवारहरूलाई विशेष शुभकामना व्यक्त गर्दछु । मलाई पनि प्रतिनिधि सभा सदस्यको लागि समानुपातिकमा मेरो नाम छनोट गर्नु भएकोमा धन्यवाद । तर म दलगत राजनीतिमा रुचि नराख्ने भएकाले मेरो नाम सूचीबाट फिर्ता लिन चाहन्छु र म सधैँ मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध रहनेछु र म एक साधारण नागरिकको रूपमा, आफ्नो कर्ममार्फत देशको लागि सक्दो योगदान दिनेछु ।’








