काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट दर्ता गरिएको माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध परेको उजुरी दरपिठ भएको छ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालको उम्मेदवारी रद्द गर्न माग गर्दै सोही क्षेत्रका अर्का उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय, गौरमा निवेदन दिएका थिए।
उक्त निवेदनमा पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा प्रकरणमा भ्रष्टाचार भएको अभियोगमा नेपालविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा विचाराधीन रहेको र त्यसका कारण उनी निर्वाचनमा सहभागी हुन अयोग्य हुने दाबी गरिएको थियो।
उजुरीमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ को व्यवस्था उल्लेख गर्दै निलम्बित अवस्थामा रहेका व्यक्तिले निर्वाचन लड्न नपाउने तर्क प्रस्तुत गरिएको थियो। तर मुख्य निर्वाचन अधिकृतको कार्यालय, रौतहटले उक्त निवेदन कानुनअनुसार दर्ता गर्न नमिल्ने ठहर गर्दै दरपिठ गरेको जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार यस विषयमा अन्य कुनै उजुरी नपरेको र कानुनी आधार नदेखिएको कारण निवेदन अस्वीकार गरिएको हो।







