परम्परागत नेपाली खाद्य पदार्थ मसौरा र छुर्पीका अनिवार्य गुणस्तर मापदण्ड लागू भएसँगै उपभोक्ता स्वास्थ्य सुरक्षा, उत्पादनको एकरूपता र अन्तर्राष्ट्रिय बजारमा नेपाली रैथाने उत्पादनको पहिचान तथा निर्यात सम्भावना थप सुदृढ हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपाली परम्परागत खाद्य पदार्थ मस्यौरा र छुर्पीको अनिवार्य गुणस्तर मापदण्ड नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको छ। परम्परागत रूपमा उत्पादन हुँदै आएका यी खाद्य पदार्थ पछिल्लो समय व्यावसायिक रूपमा बजारमा उपलब्ध हुँदै गएकाले उपभोक्ता स्वास्थ्य सुरक्षा, उत्पादनको एकरूपता र अन्तर्राष्ट्रिय बजारमा पहिचान स्थापित गर्न मापदण्ड लागू गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
खाद्य प्रविधि तथा गुणस्तर ऐन, २०८१ अनुसार नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यी मापदण्ड लागू गरेको हो। विभागका अनुसार नेपाली मौलिक खाद्य पदार्थहरू विशिष्ट स्वाद र पहिचानसहित आन्तरिक बजारसँगै विश्व बजारमा पनि प्रवर्द्धन भइरहेकाले गुणस्तरीयता कायम गर्दै व्यवस्थित रूपमा प्रवर्द्धन गर्नु आवश्यक देखिएको छ।
छुर्पीको गुणस्तर मापदण्ड : उत्पादन, संरचना, सूक्ष्मजीव र लेबलिङमा स्पष्ट व्यवस्था
राजपत्रमा प्रकाशित छुर्पीको गुणस्तर मापदण्डले उत्पादनको दायरा, परिचय, संरचना, सूक्ष्मजीव सीमा, स्वच्छता तथा प्याकेजिङ–लेबलिङलाई स्पष्ट रूपमा परिभाषित गरेको छ। मापदण्डअनुसार छुर्पी दूध वा दूधजन्य पदार्थ प्रशोधन गरी तयार गरिने नेपाली परम्परागत खाद्य पदार्थ हो, जसलाई ताजा छुर्पी र सुक्खा छुर्पीका रूपमा वर्गीकरण गरिएको छ। सुक्खा छुर्पीलाई उच्च घृतांश (हाई फ्याट) र कम घृतांश (लो फ्याट) श्रेणीमा छुट्याइएको छ।
गुणस्तरीय संरचनाका सन्दर्भमा राजपत्रले चिस्यान, कुल प्रोटिन, दूधको घृतांश र कुल खरानीका सीमा तोकेको छ। उदाहरणका लागि, ताजा छुर्पीमा चिस्यान अधिकतम १४ प्रतिशत, कुल दूध प्रोटिन न्यूनतम ६० प्रतिशत (सुक्खा तौलको आधारमा) तथा कुल खरानी अधिकतम ७ प्रतिशत तोकिएको छ। सूक्ष्मजीव सुरक्षातर्फ ई. कोलाई र साल्मोनेलाको उपस्थिति अनुमत नहुने स्पष्ट व्यवस्था गरिएको छ।
मापदण्डले अजैविक तथा जैविक बाह्य पदार्थ, विषाक्त तत्व, हेभी मेटल र अवशेषहरू तोकिएको सीमाभन्दा बढी हुन नहुने उल्लेख गरेको छ। साथै, उत्पादन, प्रशोधन, ह्यान्डलिङ, भण्डारण र ढुवानीका क्रममा स्वच्छता (हाइजिन) अनिवार्य रूपमा पालना गर्नुपर्ने तथा प्याकेजिङ गर्दा खाद्य सामग्रीका लागि सुरक्षित सामग्री प्रयोग गरी लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार आवश्यक विवरण खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
नेपालबाट अमेरिकालगायत विभिन्न मुलुकहरूमा कुकुरका लागि (डक च्यु) छुर्पी निर्यात हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ।
मस्यौराको गुणस्तर मापदण्ड : नेचुरल फरमेन्टेसन, रासायनिक सीमा र स्वच्छतामा कडाइ
मस्यौराको गुणस्तर मापदण्ड पनि नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ। मापदण्डअनुसार मस्यौरा दाल, तरकारी वा अन्य खाद्य सामग्रीको मिश्रणबाट नेचुरल फरमेन्टेसन विधिबाट तयार गरिने खाद्य पदार्थ हो। मसलाजन्य पदार्थ मिसाइएको वा नमिसाइएको दुवै अवस्थालाई मापदण्डले समेटेको छ।
राजपत्रले मस्यौराको आवश्यक संरचना र गुणस्तरीय सूचकहरू स्पष्ट रूपमा तोकेको छ। यसअनुसार मस्यौरामा चिस्यान अधिकतम ११ प्रतिशत, कुल खरानी अधिकतम ५ प्रतिशत, हाइड्रोक्लोरिक एसिडमा नघुल्ने खरानी अधिकतम ०.५ प्रतिशत तथा कुल प्रोटिन न्यूनतम १५ प्रतिशत (सुक्खा तौलको आधारमा) हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, अकार्बनिक तथा जैविक बाह्य पदार्थ, विषाक्त तत्व, हेभी मेटल र अन्य हानिकारक अवशेष तोकिएको सीमाभन्दा बढी हुन नहुने उल्लेख गरिएको छ।
मापदण्डले मस्यौराको उत्पादन, ह्यान्डलिङ, भण्डारण र ढुवानीका क्रममा स्वच्छता कायम गर्नुपर्ने तथा प्याकेजिङ र लेबलिङमा खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार आवश्यक विवरण खुलाउनुपर्ने व्यवस्था गरेको छ। यी मापदण्ड राजपत्रमा प्रकाशित मितिदेखि अनिवार्य रूपमा लागू हुने उल्लेख छ।
गुन्द्रुकको मापदण्ड सरकारलाई सिफारिस
यसैबीच, गुन्द्रुकको गुणस्तर निर्धारणसम्बन्धी मापदण्ड निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको विभागले जनाएको छ। खाद्य प्रविधि तथा गुणस्तर ऐन, २०८१ को दफा ५ बमोजिम सचिवको अध्यक्षतामा गठन भएको खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिले गुन्द्रुकको मापदण्ड नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। गुन्द्रुकसम्बन्धी विस्तृत मापदण्ड भने सरकारबाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुने विभागको भनाइ छ।
परम्परागत खाद्य पदार्थको अन्तर्राष्ट्रिय पहिचानमा जोड
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले नेपाली ट्रेडिसनल फुड प्रोडक्टलाई विश्व बजारमा चिनाउने उद्देश्यसहित गुणस्तर मापदण्ड निर्माण गरिएको बताइन्। उनका अनुसार नेपाली परम्परागत खाद्य पदार्थ बाह्य बजारमा पनि प्रवर्द्धन भइरहेकाले गुणस्तरीयता कायम गर्दै व्यवस्थित रूपमा प्रवर्द्धन गर्न आवश्यक देखिएको हो।
विश्व बजारमा नेपाली उत्पादनहरूको माग बढ्दै गएको सन्दर्भमा नेपाली रैथाने उत्पादनलाई मौलिक स्वादअनुसार गुणस्तरीय बनाउन अनिवार्य मापदण्ड तोकिएको र यसले उत्पादनको गुणस्तरसँगै बिक्री–वितरणमा समेत सकारात्मक प्रभाव पार्ने महानिर्देशक वैद्यको भनाइ छ।
उनले मापदण्ड कार्यान्वयनसँगै उपभोक्ता स्वास्थ्य सुरक्षा सुनिश्चित हुनुका साथै नेपाली परम्परागत खाद्य पदार्थको पहिचान, विश्वसनीयता र निर्यात सम्भावनामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको बताइन्।
मस्यौरा, छुर्पी र गुन्द्रुक नेपाली बजारमा अत्यधिक खपत हुने उत्पादन हुन् भने पछिल्लो समय छिमेकी देशसहित विभिन्न मुलुकहरूमा समेत यी उत्पादनहरूको माग बढ्दो देखिएको छ।







