काठमाडौँ । सुरक्षाका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशका ४८१ मतदान स्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले यहाँका १६ वटा निर्वाचन क्षेत्रका मतदान स्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो ।
नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा तराईका साथै कैलालीमा पाँच र कञ्चनपुरमा तीन गरी आठ वटा निर्वाचन क्षेत्र छन् भने बाँकी आठ निर्वाचन क्षेत्र सुदूरपश्चिमका सात पहाडी जिल्लामा रहेका छन् ।
पहाडी जिल्ला अछाममा दुई वटा क्षेत्र छन् भने बाँकी छ पहाडी जिल्लामा एक–एक निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचन लक्षित सुरक्षा रणनीति बनाएर सुरक्षा निकाय सक्रियताका साथ अघि बढेका छन् ।
प्रदेशमा प्रदेश स्तर र जिल्लामा जिल्ला तहका सुरक्षा समितिहरूले काम गरिरहेका छन् । एक हजार १७६ मतदानस्थल रहेको सुदूरपश्चिममा ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील मतदानस्थल मानिएका छन् भने यहाँ दुई हजार १९९ मतदान केन्द्र रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा मतदानस्थल अतिसंवेदनशील मानिएको छ ।
सुदूरपश्चिमको ठूलो जिल्ला कैलाली हो । यहाँका १०८ मदानस्थल अतिसंवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
कञ्चनपुरका १३२ मतदान स्थलमध्ये ६६ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कुल ७७ मतदानस्थल रहेको सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा ६२ मतदानस्थल अतिसंवेदनशील स्थलको सूचीमा राखिएको छ ।
सुदूरपश्चिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र सुरक्षाको बाहिरी घेरामा नेपाली सेना परिचालन गरिनेछ ।
यहाँ नेपाल प्रहरी मात्रै सात हजारभन्दा बढी परिचालन हुने प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
स्वतन्त्र र राजनीतिक दलका गरी यहाँ १६ वटा प्रतिनिधिसभा सदस्यका लागि २०६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।







