काठमाडौँ । मधेश प्रदेश सभाले आफ्नो आठौँ वार्षिकोत्सव मनाएको छ ।
बुधबार प्रदेश सभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सबै भेषभूषा, भाषा र संस्कृतिको सम्मान नै संघीयता र लोकतन्त्रको असली पहिचान भएको बताएका छन्।
उनले भने, ‘मधेश प्रदेशमा ढाका टोपीदेखि मिथिलाको पहिचान पाग र पगडी, भाषातर्फ बज्जिकादेखि मैथिली, भोजपुरी र नेपाली, पहिरनमा धोती कुर्था तथा दौरा सुरवालसहित कोटपैन्टसम्मको सम्मान दिनु यही त असली लोकतन्त्र र संघीयता हो।’
प्रदेश प्रमुख कर्णले कुनै समयमा एउटै भाषा र एउटै भेषभूसा लादिएको जिकिर गरे। मधेस प्रदेश सभामा सबै भाषा र भेषभूषालाई सम्मान सहित मिथिला संस्कृतिले गरिएको स्वागत नै सही लोकतन्त्र र संघीयता रहेको उनले बताए।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनमा केन्द्रित भएर धारणा राखेका थिए।
मुख्यमन्त्री यादवले भदौ २३ गते भएको आन्दोलनलाई हाइज्याक गरेको आरोप पनि लगाए। रास्वपा संघीयताविरोधी भएको उनको जिकिर थियो।
कार्यक्रमस्थलमा मिथिला कला, परम्परागत रंग-रोगन, लोक-संस्कृतिको झल्को दिने सजावट तथा स्थानीय पहिरनमा सहभागीहरूको उपस्थितिले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। मञ्च निर्माणदेखि सम्पूर्ण व्यवस्थापनसम्म मधेसको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पहिचानलाई प्राथमिकतामा राखिएको थियो।
वार्षिकोत्सव कार्यक्रममा प्रदेशसभाका सभामुख, उपसभामुख, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, पूर्वसांसद, कर्मचारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो भने प्रदेश सभाको स्थापना पछिका आठ वर्षको उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे चर्चा गरिएको थियो।







