काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै कटाक्ष गरेका छन्।
शुक्रबार ललितपुरमा आयोजित काँग्रेसको भेटघाट कार्यक्रममा बोल्दै उपसभापति शर्माले लुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने जिकिर गरे। प्रधानमन्त्री हुनका लागि राजनीतिक जग बलियो हुनुपर्ने टिप्पणी गरे।
‘अनि रास्वपाले करारमा प्रधानमन्त्री पद नियुक्त गर्ने गरी सल्लाह गरेका छौँ भन्छ। करारमा कर्मचारी नियुक्ति त सुनिएको तर आज देशको प्रधानमन्त्री बनाउने भनेर जाँदै गर्दा फाउण्डेसनमा केही हुनुपर्यो,’ शर्माले भने।
उनले भदौ २३ र २४ को जेन जेड आन्दोलनपछि काँग्रेसबाहेक कुनै पनि दलले सुदृढ भएर जनतामाझ जान नसकेको बताए। एमालेले जेन जेड आन्दोलनपछि पार्टी विधान संशोधन गरेर दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन पटक पनि अध्यक्ष हुन पाउने व्यवस्था गरेको टिप्पणी गरे।
उनले परिवर्तनको दाबी गरेका कतिपय दलहरू अहिले पनि जनताको भावनाअनुसार चल्न नसकेको आरोप लगाए। काँग्रेसले भने नेतृत्व पुस्तान्तरणमार्फत पार्टीको नीति समेत परिवर्तन गरेको उनको दाबी थियो।







