काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको पहिलो प्राथमिकता देश भएको बताएका छन् । देश रहे मात्र यहाँको विकास गरी समृद्ध नेपाल बनाउन सकिने उनले स्पष्ट पारेका छन् ।
बिहीबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले सो कुरा बताउँदै विकासको प्रमुख तगारो राजनीतिक अस्थिरता भएकाले स्थिर सरकार बनाउने मत दिन उनले मतदातामा आग्रह गरेका छन् ।
भदौ २३ र २४ का घटनाहरू स्वतःस्फूर्त थिए कि योजनाबद्ध थिए भन्दै अध्यक्ष ओलीले प्रश्न गरेको छन । निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो ? आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो ? उनले अर्को प्रश्न गरे ।
अस्थिरताको अन्त्य र राजनीतिक स्थिरताको लागि दशक लामो कठिन यात्रा गरेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले संविधान जारी हुनुअघि मात्र हैन, त्यसपछि पनि दलहरूबिच कटुता र बेमेल रहेको, सरकार बनाउने र ढाल्ने अस्वस्थ दौडले जनतामा निराशा बढाएको बताए ।
देशको समृद्धिका लागि नीति र राजनीतिमा स्थिरता चाहिन्छ भन्दै अध्यक्ष ओलीले स्थिरता नभए विकासको गति रोकिन्छ र अर्थतन्त्रप्रति भरोसा नरहने बताए । देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने बाटोमा सबैभन्दा ठुलो तगारो राजनीतिक अस्थिरता रहेका उनले बताए ।
एमालेसँग विगतका कामका अभिलेखहरू रहेको बताउँदै उहाँले आन्दोलनमा मात्र होइन, नीति, सुशासन, र विकास निर्माणमा एमालेको कार्यशैली जनताले चिनेको उनको भनाइ छ।







