काठमाडौँ । निर्वाचन आयोगले आगामी चुनावी अभियानमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार (फागुन ११) जारी विज्ञप्तिमार्फत बालबालिकालाई चुनाव प्रचारमा संलग्न नगराउन आग्रह गरेका छन्।
निर्वाचन आचारसंहिताको दफा १३, उपदफा (१), खण्ड (ट) अनुसार चुनावी प्रचार, आमसभा तथा जुलुसमा बालबालिकालाई प्रयोग गर्नु वा गराउनु निषेध गरिएको छ।
विज्ञप्तिमा उल्लेख छ कि यस आचारसंहिताको उल्लंघन भएमा आयोगले जरिवाना निर्धारण गर्न वा उम्मेदवारी रद्द गर्ने सम्मको कारबाही गर्ने कानुनी प्रावधान रहेको छ।








