अमरगढी (डडेल्धुरा) । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।
(रास्वपा) का उम्मेदवार डा. जोशी सात हजार १० मतान्तरले विजयी भएका हुन् । उनले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र नेकपा (एमाले)का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरेका छन् ।
डडेल्धुरामा ३४ वर्षे काँग्रेस विरासत तोडेका डा. जोशीको जन्म २०२७ साल चैत ३० गते भएको हो । उनी गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनी लामो समय विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडिँदै आएका छन् । डा जोशीको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा सुरु भएको थियो ।
विसं २०४८ मा शिक्षण पेसामा आबद्ध हुँदै शिक्षक संगठनमा आबद्ध भएका डा. जोशी २०५१ सालमा नेकपा(एमाले) डडेल्धुरा–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेर पार्टी राजनीतिमा सक्रिय थिए । उनले जिल्लाका विभिन्न विद्यालयहरूमा अध्ययापनसमेत गरे। पार्टीभित्र डा. जोशीले क्रमश: विभिन्न जिम्मेवारी सम्हाले। विसं २०५३ सालमा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य भएका डा. जोशी २०५४ सालमा जिल्ला कमिटी सचिव बने ।
त्यस्तै, २०५५ सालतिर डा. जोशी राजनीतिक जिम्मेवारीसँगै पत्रकारितामा पनि सक्रिय थिए । त्यसक्रममा कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकको जिम्मेवारी सम्हाले । उनले कान्तिपुर, नेपाल साप्ताहिक तथा भारतको ‘हिन्दूस्तान टाइम्स’मा समेत स्तम्भ लेख्दै समसामयिक राजनीतिक तथा नीतिगत विषयमा विचार प्रस्तुत गरे ।
संगठनमा लामो समय काम गरेका डा जोशी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत थिए । राजनीतिक गतिविधिसँगै उनले लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरे । विशेषगरी २०६२/६३ को जनआन्दोलनमा डा. जोशीको सक्रिय सहभागिता रहेको थियो । सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा समेत सक्रिय रहेका उनी सामाजिक मुद्दामा आवाज उठाउने नेताका रूपमा चिनिन्छन्।
निर्वाचन राजनीतिमा भने डा. जोशीले उतारचढाव भोगे । विसं २०७० को संविधान सभा निर्वाचनमा उनी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए भने २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनले कर्णबहादुर मल्लसँग हार व्यहोरे । तर, २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि डा जोशीले पुन: राजनीतिक रूपमा बलियो उपस्थिति देखाए । विसं २०७८ मा एमाले परित्याग गरेका जोशी त्यसपछि स्वतन्त्र राजनीतिक यात्रामा सक्रिय थिए ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजेड’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि डा. जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधि सभा निर्वाचनमा होमिएका थिए । शैक्षिक रूपमा पनि डा. जोशी उच्च अध्ययन गरेका नेता हुन् । नेपालमै राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पिएचडी) हासिल गरेका छन् । अन्तरराष्ट्रिय सम्बन्ध, विकास नीति, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा उनको अनुभव छ ।







