काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूलाई गैरनेपाली नागरिकसँग वित्तीय कारोबार नगर्न निर्देशन दिएको छ।
महानगरले सोमबार जारी गरेको सूचनामार्फत सहकारी संस्थाहरूलाई प्रचलित कानुनी प्रावधानअनुसार सदस्य-केन्द्रित बचत तथा ऋण कारोबार सञ्चालन गर्न स्मरण गराएको हो। सहकारी ऐन, २०७४ को दफा ५० तथा काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ३९ अनुसार सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य बन्न सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।
महानगरका अनुसार केही सहकारी संस्थाले विदेशी नागरिकलाई सदस्य बनाएर कारोबार गरेको भन्ने उजुरी प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको हो। यस प्रकारको गतिविधि कानुन विपरीत हुने भएकाले तत्काल सच्याउन संस्थाहरूलाई भनिएको छ।
निर्देशनको पालना नगरेमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी महानगरपालिकाले दिएको छ।







