काठमाडौँ । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीका सभापति गगनकुमार थापालाई राजीनामा नदिन सुझाव दिएका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा पार्टीको नतिजा अपेक्षा अनुसार नआएको भन्दै भइरहेको आलोचना र राजीनामाको प्रसंगलाई लक्षित गर्दै श्रेष्ठले यस कठिन घडीमा राजीनामा दिनु वा माग्नु पार्टी र देश दुवैको हितमा नहुने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत सभापति थापालाई सम्बोधन गर्दै नेता श्रेष्ठले लेखेका छन्, ‘यस निर्वाचनले नेपाली काँग्रेसलाई समयसापेक्ष बन्ने, युवाहरूको आकांक्षा आत्मसात गर्ने, र संगठनात्मक रूपान्तरण गर्ने गहिरो सन्देश दिएको छ । यो नेतृत्वको असफलता मात्र होइन, जनताको परिवर्तनको चाहनाअनुरूप काँग्रेसलाई पूर्ण रूपान्तरण गर्न नसकिएको चेतावनी पनि हो ।’
उनले थप लेखेका छन्, ‘अब निर्वाचनको सिकाइलाई आत्मसात गर्दै वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म संगठन सुदृढीकरण गर्ने संकल्पका साथ अघि बढ्नु अपरिहार्य छ ।’
फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत ल्याउँदा काँग्रेस, एमाले सहितका दलहरुलाई धक्का पुगेको छ । चुनाव लडेका काँग्रेस सभापति गगन थापासहितका पदाधिकारीहरू नै पराजित भएका छन् ।
यसै सन्दर्भमा नेता गोपालमान श्रेष्ठले निर्वाचन परिणाम हाम्रो अपेक्षा अनुसार आउन नसकेको उल्लेख गरेका छन् । ‘तर, हाम्रो लागि निर्वाचनको नतिजा भन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य नै मुख्य महत्त्व राख्छ,’ श्रेष्ठले ‘प्रिय गगन बाबु’ सम्बोधन गर्दै लेखेका छन्, ‘देश फेरि लयमा फर्कन थालेको छ र यस यात्रामा तपाईँको नेतृत्वले हामीलाई आशा र दिशानिर्देश दिएको छ ।’
उनले गगनको नेतृत्वमा नयाँ ऊर्जा, आशा र रूपान्तरणको बाटो देखेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘गगन बाबु, तपाईँले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै दृढ बनाएको छ । यस कठिन घडीमा राजीनामा ल्याउनु वा राजीनामा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन । बरु, हामी सबै काँग्रेसीजनहरू एकढिक्का भएर तपाईँलाई साथ दिनु आवश्यक छ । तपाईँको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रूपान्तरणको बाटो देखिरहेका छौं ।’
‘यस संकटको घडीमा तपाईँलाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै, हामी सबै मिलेर नेपाली काँग्रेसलाई रूपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञा गर्दछौं,’ नेता श्रेष्ठले लेखेका छन् ।







