काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र संगठनात्मक पुनर्संरचनाको बहस सुरु भएको छ। सो क्रममा निर्देशन समितिका अध्यक्षले पदबाट अलग हुने घोषणा गरेका छन्।
डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी को निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम अपेक्षाभन्दा कमजोर आएको भन्दै उनले उक्त निर्णय लिएको जनाएका छन्।
विज्ञप्तिमार्फत उनले पार्टीका जिम्मेवार नेतृत्वले वर्तमान परिस्थितिमा मार्गप्रशस्त गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै जनमतअनुसार संगठन पुनर्गठन गर्दै तदर्थ समिति गठन गरी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनका अनुसार महाधिवेशनबाट प्राप्त जनादेशका आधारमा मात्र पदमा रहने अभ्यास स्थापित गर्नुपर्ने भएकाले आफूले राजीनामा दिएको उल्लेख गरिएको छ।
निर्वाचन परिणाममा देखिएको असन्तोषका कारण आन्तरिक तथा अन्य विविध कारणहरू जिम्मेवार रहेको भन्दै उनले अब पार्टीले जनभावनालाई आत्मसात् गर्दै आगामी रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन्।







