काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहणपछि शिक्षा प्रणाली सुदृढीकरण, वैज्ञानिक सोचको विकास र युवा शक्तिको सशक्तीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै एकैसाथ दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी तथा नेपाल सरकारको प्रवक्ताको भूमिका प्राप्त हुनु अवसर र चुनौती दुवै भएको बताएका छन् । उनले उक्त जिम्मेवारीप्रति प्रधानमन्त्री, आफ्नो दल र सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।
उनले शिक्षा क्षेत्रलाई गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी बनाउने, विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताको अपेक्षा सम्बोधन गर्ने तथा प्रविधिमैत्री समाज निर्माणतर्फ अघि बढ्ने उल्लेख गरेका छन् । साथै, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै वैश्विक प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादनमा जोड दिने बताएका छन् ।
युवा तथा खेलकुद क्षेत्रतर्फ युवाहरूको ऊर्जा र सृजनशीलतालाई उद्यमशीलता, रोजगारी र नेतृत्व विकासमा परिचालन गर्ने तथा खेलकुद क्षेत्रको व्यावसायिक विकास, प्रतिभा पहिचान र अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति सुदृढ बनाउने लक्ष्य रहेको उनले जनाएका छन् ।
मन्त्री पोखरेलले पारदर्शिता, उत्तरदायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै संवाद, सहकार्य र समन्वयमार्फत समग्र क्षेत्रको रूपान्तरणमा समर्पित रहने बताएका छन् ।







