काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेनले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्यहरूसँग प्रदेशको विकास तथा समसामयिक विषयमा केन्द्रित भई सामूहिक छलफल गरेका छन्।
सरकार प्रमुखले विभिन्न प्रदेशका जनप्रतिनिधिसँग निरन्तर संवाद गर्दै आएको सन्दर्भमा यसपटक गण्डकी प्रदेशका सांसदहरूसँग विचार–विमर्श गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलका क्रममा प्रदेशस्तरीय पूर्वाधार विकास, चालु तथा अधुरा आयोजनाहरूको प्रगति, साथै जनताको तात्कालिक आवश्यकतासम्बन्धी विषयहरू उठाइएको थियो। प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग उनीहरूको निर्वाचन क्षेत्रमा छिटो कार्यान्वयन गर्न सकिने योजनाबारे सुझाव समेत मागेका थिए।
सांसदहरूले आ–आफ्नो क्षेत्रका सडक सञ्जाल, खानेपानी आपूर्ति, पर्यटन प्रवर्द्धन तथा अधुरा परियोजनाहरूका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, प्रदेश राजधानी पोखरालाई अन्य जिल्लासँग प्रभावकारी रूपमा जोड्ने सडक पूर्वाधार सुदृढीकरण तथा कृषि क्षेत्रको आधुनिकीकरणका लागि विशेष बजेट विनियोजन गर्नुपर्ने मागसमेत प्रस्तुत गरिएको छ।
प्रधानमन्त्री शाहले उठाइएका विषयप्रति ध्यान दिँदै जनस्तरबाट आएका गुनासा र विकाससम्बन्धी आवश्यकतालाई प्राथमिकतामा राखी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







