काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिहरूको सभापति चयनका विषयमा आन्तरिक छलफल अघि बढाएको छ।
पार्टीभित्र विशेष गरी सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिनुपर्ने विषयमा समान धारणा रहेको जनाइएको छ। तथापि, उक्त समितिको सभापतिमा कुन विपक्षी दललाई समर्थन गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन।
प्रतिनिधि सभामा रास्वपा बाहेक अन्य प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिपक्षमा रहेका छन्। तीमध्ये कसलाई समर्थन गर्ने भन्ने विषयमा रास्वपाले आन्तरिक परामर्श जारी राखेको जनाएको छ।
साथै, प्रतिनिधि सभा अन्तर्गत रहेका अन्य नौ विषयगत समितिहरूको सभापति चयनका सन्दर्भमा पनि पार्टीले समग्र रणनीति तय गर्ने तयारी गरेको छ। सभापति चयन प्रक्रियामा पार्टीमा एकीकृत भएका विभिन्न समूहका प्रतिनिधित्वलाई पनि ध्यानमा राख्ने विषयमा छलफल भइरहेको जनाइएको छ।
संघीय संसद् अन्तर्गत १६ वटा विषयगत समिति रहेका छन्, जसमा प्रतिनिधि सभा अन्तर्गत १०, राष्ट्रिय सभा अन्तर्गत ४ र दुई वटा संयुक्त समिति छन्। राष्ट्रिय सभा अन्तर्गतका समितिहरूको सभापति यसअघि नै चयन भइसकेका छन्।
गत शुक्रबार प्रतिनिधि सभा र संयुक्त समितिहरू गठन भइसकेका छन् भने ती समितिहरूको सभापति चयनका लागि निर्वाचन आगामी वैशाख ४ गतेका लागि तय गरिएको छ। उक्त मितिलाई लक्षित गर्दै दलहरूबीच परामर्श र रणनीति निर्माण जारी रहेको छ।







