काठमाडौँ । वर्षाका कारण विपी राजमार्ग अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको मंगलटार क्षेत्रमा रोकिएका सयौँ यात्रुको प्रहरीले उद्धार गरेको छ। शनिबार साँझदेखि अलपत्र परेका यात्रुलाई आइतबार बिहान सुरक्षित स्थानतर्फ सारिएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोसी खोलामा आएको बाढीले विपी राजमार्गका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको थियो। त्यसका कारण मंगलटार क्षेत्रमा यात्रु र सवारी साधन रोकिएका थिए।
प्रहरीले मंगलटारमा रहेका यात्रुलाई झोलुंगे पुलमार्फत पार गराई तेमाल गाउँपालिका हुँदै भकुण्डेसम्म पुर्याएको जनाएको छ। उद्धार कार्यअन्तर्गत करिब ८० वटा माइक्रो बसमा रहेका झन्डै ६ सय यात्रुलाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ।
हाल डाइभर्सन बगिएकाले मंगलटारमा रोकिएका सवारी साधन काठमाडौँ वा सिन्धुलीतर्फ जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। वैकल्पिक मार्ग पुनः निर्माण भएपछि ती सवारी साधनलाई गन्तव्यतर्फ पठाइने तयारी रहेको छ।
वर्षा कम भएसँगै बाढीले क्षति पुर्याएका डाइभर्सन पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ। थप वर्षा नभएमा साँझसम्म यातायात सञ्चालन पुनः सुचारु हुन सक्ने अपेक्षा गरिएको छ।







