काठमाडौँ । इरानमा नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई स्वदेश फर्काउने काम अघि बढिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नियमित जानकारी अद्यावधिक गर्दै उनको फिर्तीका लागि आवश्यक कूटनीतिक तथा कानुनी प्रक्रिया निरन्तर अघि बढाइरहेको स्पष्ट पारेको हो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार झा हाल इरानी पक्षको नियन्त्रणमै रहेका छन् भने उनको रिहाइसँग सम्बन्धित औपचारिक प्रक्रिया अझै पूरा हुन बाँकी छ ।
इरानको हालको संवेदनशील परिस्थितिले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन केही ढिलाइ भएको मन्त्रालयको भनाइ छ ।
प्रवक्ताले सम्बन्धित निकायसँग समन्वय गर्दै झाको अवस्था र उद्धार प्रयासबारे नियमित सम्पर्कमा रहेको तथा परिवारलाई पनि आवश्यक जानकारी दिइरहेको बताए । रिहाइका लागि कूटनीतिक पहल निरन्तर जारी रहेको उनले उल्लेख गरे ।
प्राप्त विवरणअनुसार झा दुबईमा आधारित एक समुद्री ढुवानी कम्पनीमा जहाज क्याप्टेनका रूपमा कार्यरत थिए । तेल बोकेको जहाज लिएर फर्किने क्रममा इरानको हर्मुज जलडमरूमध्य नजिक बन्दर अब्बास बन्दरगाह क्षेत्रबाट उनलाई इरानी रिभोलुसनरी गार्डले नियन्त्रणमा लिएको बताइएको छ ।
घटना इजरायल-अमेरिका र इरानबीच तनाव चुलिनुअघि भएको र सोही समयमा उनी इन्धन ढुवानीका लागि इरान पुगेको विवरण पनि प्राप्त भएको मन्त्रालयले जनाएको छ ।







