काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफ्नो नाममा लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै प्रमाणित भए राजनीतिक जीवनबाट अलग हुने घोषणा गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले आफूलाई स्मार्ट टेलिकमसम्बन्धी करिब ३० अर्ब रुपैयाँको कथित ठगी प्रकरणसँग जोडेर भ्रामक समाचार प्रकाशित गरिएको दाबी गरे।
खरेलका अनुसार उक्त प्रकरणमा आफू कुनै पनि बैठकमा सहभागी नभएको, कुनै फाइल स्वीकृत नगरेको तथा सम्बन्धित निकायसँग औपचारिक संलग्नता नरहेको अवस्था हुँदाहुँदै गलत रूपमा जोडिएको छ।
उनले केही सञ्चार सामग्रीमा आफूलाई स्वीट्जरल्याण्ड भागेको भन्दै गरिएको दाबीलाई निराधार, भ्रामक तथा पत्रकारिताको न्यूनतम मापदण्डसमेत नपुगेको टिप्पणी गरे। यस्ता सामग्रीले व्यक्तिगत सम्मान, राजनीतिक छवि तथा संसद् र पार्टी दुवैमा असर परेको उनले बताए।
सांसद खरेलले उक्त विषय संसद्को अभिलेखमा रहने गरी कडा आपत्ति जनाउँदै खण्डन गरेका छन्। साथै, आरोप प्रमाणित गर्न सम्बन्धित पक्षलाई खुला चुनौती दिँदै प्रमाणित गर्न नसकेमा जिम्मेवारी स्वीकार गर्ने वा प्रकाशन संस्थाले नै निर्णयात्मक कदम चाल्न सक्ने प्रश्न पनि उठाएका छन्।
उनले थप स्पष्ट गर्दै यदि स्मार्ट टेलिकम प्रकरणमा आफ्नो कुनै पनि बैठक, निर्णय वा प्रशासनिक संलग्नता प्रमाणित भएमा आफू स्थायी रूपमा राजनीतिक जीवनबाट बाहिरिने प्रतिबद्धता व्यक्त गरेका छन्।







