काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले कर्णाली प्रदेशमा अब पार्टी नेतृत्वको सरकार गठन हुने बताएका छन्।
कर्णाली प्रदेशस्तरीय समीक्षा बैठकमा सहभागी हुन सुर्खेत पुगेका थापाले नेकपा (एमाले)सँग भएको राजनीतिक समझदारीअनुसार अब प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने चरण नजिकिएको बताएका हुन्।
उनका अनुसार हाल प्रदेशमा एमाले र कांग्रेसबीचको सहकार्यका आधारमा सरकार सञ्चालन भइरहेको भए पनि पूर्व सम्झौताअनुसार नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्नेछ। उनले भने, सहमतिको कार्यान्वयनसँगै अब सरकारको नेतृत्व काँग्रेसले सम्हाल्ने समय आएको छ।
थापाले नेतृत्व परिवर्तनपछि बन्ने सरकारले अपनाउने कार्यशैली र जनमुखी कार्यक्रम नै मुख्य विषय हुने उल्लेख गर्दै नीतिगत जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
त्यसैगरी उनले पार्टीका नेता तथा कार्यकर्ताहरू कुनै पनि तहको सरकारी जिम्मेवारीमा रहेर अनियमिततामा संलग्न भए पार्टीले नै प्रारम्भिक रूपमा कारबाही गर्ने स्पष्ट संकेत गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयभन्दा अगाडि पार्टीले अनुशासनात्मक कदम चाल्ने अभ्यास आवश्यक रहेको उनले बताए।
उनले संघीय सरकारका सकारात्मक पहललाई समर्थन गर्ने तर नकारात्मक वा विवादास्पद कदमको भने कडा आलोचना गर्ने नीति काँग्रेसले अपनाउने पनि उल्लेख गरेका छन्।







