काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले मेलम्ची र इन्द्रावती बाढी प्रभावित क्षेत्रका बस्तीहरूको संरक्षण तथा पुनर्निर्माण कार्यको प्रगतिबारे सरकारसँग प्रश्न उठाएका छन्।
मंगलबारको बैठकको शून्य समयमा धारणा राख्दै उनले वर्षायाम सुरु हुनुअघि नै ती क्षेत्रमा आवश्यक संरक्षणका काम अघि बढाउन आफूले यसअघि नै सरकारसमक्ष माग राखेको स्मरण गराए।
दुलालले आफ्नो निर्वाचन क्षेत्र (सिन्धुपाल्चोक-२) का तत्कालीन समस्याबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको बैठकमा पनि जानकारी गराएको उल्लेख गर्दै ती विषयहरूको कार्यान्वयन अवस्था स्पष्ट गर्न माग गरे।
उनले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रको सामुदायिक उत्थान कार्यक्रमका लागि बजेट विनियोजन भए पनि आवश्यक गठन आदेश जारी नहुँदा काम अघि बढ्न नसकेको बताए। खानेपानी मन्त्रालयमा सो प्रक्रिया कहिलेसम्म रोकिएर रहने हो भन्ने प्रश्नसमेत उनले उठाए।
त्यसैगरी मध्यपहाडी लोकमार्गअन्तर्गत बन्देउ-बाहुनेपाटी सडक खण्ड लामो समयदेखि जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले ठेक्का कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए।
सांसद दुलालले मेलम्ची-इन्द्रावती बाढी प्रभावित क्षेत्र, सामुदायिक उत्थान कार्यक्रम र सडक पूर्वाधार सुधारका विषयमा तीनै मुद्दामा सरकारको स्पष्ट जवाफ आवश्यक रहेको बताए।







