काठमाडौँ। गोरखाको पालुङटार नगरपालिकाले कृषि योग्य जमिनको संरक्षण, बाँझो जमिनको सदुपयोग तथा व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘भूमि बैंक कार्यक्रम कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको छ । सोही कार्यविधिअनुसार नगरपालिकाले भूमि बैंकमा जग्गा दर्ताका लागि सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।
नगरपालिकाले नगरभित्र रहेका खेतीयोग्य तर विभिन्न कारणले प्रयोगविहीन अवस्थामा रहेका जमिनलाई पुनः उत्पादन प्रणालीमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विज्ञप्तिअनुसार कार्यविधिको दफा ३ उपदफा (१) को (क) बमोजिम कम्तीमा २ रोपनी वा सोभन्दा बढी क्षेत्रफलका बाँझो रहेका खेतीयोग्य जग्गाधनीले आफ्नो जग्गा भूमि बैंकमा सूचीकृत गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि नगरपालिकाले वैशाख ७ गते सूचना प्रकाशन गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ ।
त्यस्तै, भूमि बैंकमा दर्ता भएका जग्गाहरूलाई सडक पहुँच, सिँचाइ सुविधा, उर्वराशक्ति, जैविक सुरक्षा तथा क्षेत्रफलका आधारमा वैज्ञानिक रूपमा वर्गीकरण गरिने नगरपालिकाले जनाएको छ । सूचीकृत जग्गा कृषि कार्य गर्न इच्छुक कृषक, कृषक समूह, सहकारी तथा कृषि फार्मलाई नियमानुसार उपलब्ध गराइने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाले कार्यक्रममार्फत बाँझो जमिनको उपयोग वृद्धि, उत्पादनमुखी कृषि प्रणाली विकास, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने तथा पालुङटारलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको जनाएको छ । साथै, भूमि बैंकबाट प्राप्त जग्गामा उत्कृष्ट उत्पादन गर्ने कृषकलाई प्रोत्साहन तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि कार्यविधिमा समावेश गरिएको उल्लेख गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी. सबै जग्गाधनीलाई आफ्नो प्रयोगविहीन खेतीयोग्य जमिन भूमि बैंकमा दर्ता गरी अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।







