काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठक विपक्षी दलहरूको अवरोधका कारण केही समयका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन शाह को अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाउँदै विपक्षी सांसदहरूले अवरोध गरेपछि कार्यसूची प्रभावित भएको हो।
सभामुख डोलप्रसाद अर्यालका अनुसार बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको र तोकिएको समयपछि पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।
बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री तथा गृह मन्त्रालय, साथै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका शाहको तर्फबाट ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३’ माथि छलफल अघि बढाउने कार्यक्रम तय थियो। तर प्रधानमन्त्री उपस्थित नभएपछि उनको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था गरिएको थियो।
यस प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विपक्षी सांसदहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको भन्दै निरन्तर विरोध जनाएका थिए। उनीहरूले नीति तथा कार्यक्रमदेखि नै प्रधानमन्त्रीको उपस्थितिको माग हुँदै आएको स्मरण गराउँदै नियमित प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन हुन नसकेको विषय उठाएका थिए।
प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीसँग सम्बन्धित विषयमा मासिक रूपमा प्रश्नोत्तर हुने व्यवस्था भए पनि उक्त अभ्यास प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै विपक्षीले आपत्ति जनाएका हुन्।
विपक्षीको अवरोध र सत्तापक्ष-विपक्षबीच भएको भनाभनका बीच सभामुख अर्यालले बैठक सञ्चालन असहज भएपछि १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।







