काठमाडौँ । हेटौँडा-काठमाडौँ जोड्ने छोटो दूरीको चित्लाङ-थानकोट मार्गमा निर्माण तथा सुधारका क्रममा सवारी आवागमन बन्द गरिने भएको छ ।
उक्त सडक खण्डमा यही जेठ १७ गतेदेखि ३० गतेसम्म १४ दिन सवारी आवागमन बन्द गरेर निर्माण कार्य अगाडि बढाउन लागिएको हो ।
सडक डिभिजन काठमाडौँमार्फत दुईवटा निर्माण कम्पनीले सडक ढलान, कालोपत्र र टेवा पर्खाल निर्माणलगायतका कार्य गर्ने भएका छन् ।
थानकोट–चित्लाङ सडक निर्माण तथा सुधार कार्य भइरहेकोमा उक्त सडक खण्डको भौगोलिक अवस्थाका कारण गुडिरहेका सवारीसाधनले निर्माण कार्यमा अवरोध पुग्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने देखिएकाले सवारी आवागमन पूर्ण रूपमा बन्द गरेर काम गर्न लागिएको सडक डिभिजन काठमाडौँले जनाएको छ ।
सडक डिभिजन काठमाडौँका अनुसार चित्लाङ-थानकोट सडकको १८ किलोमिटरमध्ये नौ किलोमिटर सडक सुधार हुन बाँकी छ । त्यसमध्ये दुईवटा निर्माण कम्पनीमार्फत कालोपत्र र ढलान गरी करिब साढे सात किलोमिटर सडक खण्डमा काम हुने जनाइएको छ ।
टेवा पर्खाल निर्माण, कालोपत्र र ढलान हुने भागमध्ये मकवानपुरतर्फ करिब १९ सय मिटर र बाँकी काठमाडौँतर्फ काम हुनेछ ।







