काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।
“किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गासिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ”, उनले भने ।
मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै उनले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधार सिलाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । “यसका लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्दछ, किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको छ”, राष्ट्रपति पौडेलले भने ।
उनले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकाय एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याए ।
“युवा शक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउनुपर्छ, यसका लागि कृषकको सम्मान, कृषि पेसाको संरक्षण तथा आधुनिकीकरण आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भने ।
राष्ट्र निर्माणको आधार स्तम्भ तथा राष्ट्रको समृद्धिका संवाहक कृषकलाई सम्मान गर्न पाउँदा आफूलाई हर्ष अनुभूति भएको उनको भनाइ थियो ।
साथै, कृषकको मेहनत, सीप र पौरखले देश समृद्ध बन्छ, यो राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रमले कृषि पेसालाई सम्मानित पेसाका रूपमा स्थापित गर्न योगदान पुर्याएको उनले बताए ।
“कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्नसके मात्र देश निर्माणको सपना साकार हुने मैले ठानेको छु”, उनले भने ।
उनले राजनीतिक परिवर्तनपछिको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि नै भएको र कृषि, जलस्रोत पर्यटन, पूर्वाधार, सूचना प्रविधि र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार रहेको बताए ।
राष्ट्रपति पौडेलले बदलिँदो परिवेशमा युवा जनशक्तिलाई नेपालमै रोजगारीको अवसर सृजना गर्ने क्षेत्र भनेकै कृषि भएको र कृषि नै उद्योगको कच्चा पदार्थको स्रोत भएकाले यो क्षेत्रको विकास गर्न राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्ने बताए । उनले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।







