काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका-५ क्षेत्रबाट सशस्त्र प्रहरी बलका एक जवानसहित दुई जना बेपत्ता भएका छन्। घटनापछि स्थानीय प्रशासनले खोजी कार्य तीव्र बनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेहरूमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्।
प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार दुवै जना शुक्रबारदेखि सम्पर्कविहीन अवस्थामा रहेका हुन्। प्रारम्भिक विवरणअनुसार उनीहरू नाताले मामा-भान्जा पर्ने बताइएको छ।
खोजी क्रममा महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेपछि दुवै जना नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ। सोही आधारमा सुरक्षा निकायहरूले नदी तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेका छन्।







