काठमाडौँ । श्रीलंकामा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा नेपालका दुई प्रमुख अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका छन्।
दीपेन्द्रलाई जाफ्ना किङ्सले टोलीमा समावेश गरेको छ भने कुशल भुर्तेललाई कोलम्बो क्यापिटल्सले खरिद गरेको हो। यससँगै नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उपस्थिति थप मजबुत बनेको देखिएको छ।
यसअघि सोही टिम जाफ्ना किङ्समा नेपाली स्पिनर सन्दीप लामिछाने पनि अनुबन्धित भइसकेका छन्, जसले गर्दा दीपेन्द्र र सन्दीप एउटै फ्रेन्चाइजमा खेल्ने भएका छन्।
जानकारी अनुसार सन्दीप गोल्ड क्याटेगोरीमा सूचीबद्ध थिए भने दीपेन्द्र र कुशल एसोसिएट्स क्याटेगोरीबाट चयन भएका हुन्। उक्त श्रेणीमा खेलाडीको आधार मूल्य १५ हजार अमेरिकी डलर तोकिएको छ।







