काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालमा दीर्घकालीन परिवर्तनका लागि अब हरित क्रान्तिको आवश्यकता रहेको बताएका छन्।
शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा विभिन्न नाममा भएका राजनीतिक आन्दोलन र क्रान्तिहरूले मुख्यतः राजनीतिक परिवर्तन मात्र ल्याएको उल्लेख गर्दै अब देशको समग्र रूपान्तरणतर्फ केन्द्रित नयाँ अभियान आवश्यक भएको धारणा व्यक्त गरे।
घिसिङका अनुसार उज्यालो नेपाल पार्टीले अब हरित क्रान्तिको अवधारणा अघि बढाउने तयारी गरेको छ। उनले विगतका विभिन्न चरणका आन्दोलनहरूलाई स्मरण गर्दै ती प्रक्रियाहरूले राजनीतिक व्यवस्था परिवर्तनमा मात्र सीमित प्रभाव पारेको बताए।
उनले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले ‘नीलो क्रान्ति’ भन्ने शब्द प्रयोग गरेको उल्लेख गर्दै त्यस्तो अवधारणा दीर्घकालीन रूपमा टिकाउ नहुने दाबीसमेत गरे।
घिसिङले भने, “नीलो क्रान्ति धेरै दिन टिक्दैन, अन्ततः देशलाई स्थायित्व र विकासतर्फ लैजाने आधार हरित क्रान्ति नै हो।”
उनका अनुसार हरित क्रान्तिको मूल आधार सुशासन रहनेछ र त्यसका अतिरिक्त दिगो विकास तथा संस्थागत स्थायित्वसँग सम्बन्धित विभिन्न आयामहरू समेटिनेछन्। उनले उज्यालो नेपाल पार्टीको झन्डा हरियो राखिनु पनि सोही अवधारणासँग जोडिएको बताए।
अध्यक्ष घिसिङले देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि हरित क्रान्ति नै उपयुक्त मार्ग भएको दाबी गर्दै सो अभियान आफ्नो पार्टीले नेतृत्व गर्ने स्पष्ट पारे।







