काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिन तथा पुर्याउन आउने सवारीसाधनका लागि ‘पिक एण्ड ड्रप’ अवधिमा १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने व्यवस्था लागू गरिएको छ।
विमानस्थल कार्यालयले यात्रु आवतजावतलाई सहज बनाउन उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो। यसअनुसार विमानस्थल परिसरमा यात्रु छोड्ने वा लिन आउने सवारीसाधनले १५ मिनेटभित्र बाहिरिएमा पार्किङ शुल्क तिर्नु पर्ने छैन ।
विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार यात्रु सेवाको आवश्यकता र भीड व्यवस्थापनलाई मध्यनजर गर्दै ‘पिक एण्ड ड्रप’ समय सीमा विस्तार गरिएको हो। यसअघि यस्तो सुविधा सात मिनेटसम्म मात्र लागू थियो।
उनका अनुसार परीक्षणका रूपमा एक महिनासम्मका लागि १५ मिनेटको समयसीमा लागू गरिएको छ। सो अवधिमा उक्त सुविधा अन्तर्गत पार्किङ शुल्क नलिइने र नियमको उल्लंघन भएमा आवश्यक कारबाही गरिने पनि उनले स्पष्ट पारेका छन्।
नयाँ व्यवस्थाले विमानस्थलमा यात्रु व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ।







