काठमाडौँ । कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे धरौटीमा रिहा भएका छन्।
अदालतमा १७ करोड रुपैयाँ बिगो तिर्ने कबुल गरेका भोटेले ५ लाख रुपैयाँ धरौटी बुझाएपछि रिहाइ पाएका हुन्। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
भोटे नेकपा एमालेसँग निकट युवा संगठनका नेता हुन्। उनी पछिल्लो स्थानीय तह निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बने पनि पराजित भएका थिए।
उक्त प्रकरणमा दायर मुद्दामा कुल १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बराबरको बिगो माग गरिएको छ, जसलाई जाहेरवालालाई भराइदिनुपर्ने दाबी गरिएको छ।
प्रकरणबारे न्यायिक प्रक्रिया अघि बढिरहेको र बाँकी विषयमा थप कानुनी कारबाही जारी रहने जनाइएको छ।







