काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेका छन्। बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै कार्यसूची अघि बढ्न नदिएको स्थिति देखिएको छ।
प्रधानमन्त्री बालेन शाहको कथित अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले निरन्तर रूपमा संसद् अवरोध गर्दै आएको पृष्ठभूमिमा आजको बैठक पनि प्रभावित बनेको हो।
यसअघि दिन भरजस्तै आजै आयोजना गरिएको सर्वदलीय छलफलमा पनि यस विषयमा सहमति जुट्न नसकेको जानकारी प्राप्त भएको छ। सत्तापक्ष र विपक्षीबीचको वार्तामा कुनै ठोस निष्कर्ष ननिस्किएपछि विवाद यथावत् रहेको देखिएको छ।
सत्तारूढ पक्षले बैठकका क्रममा भारत भ्रमणसँग सम्बन्धित विषय तथा सीमा समस्या जस्ता मुद्दामा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनालले संसद्मा धारणा राख्ने विकल्प प्रस्तुत गरेको थियो। तर विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री बालेन शाह स्वयं संसद्मा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने अडान दोहोर्याएका छन्।
फलस्वरूप प्रतिनिधिसभामा उत्पन्न गतिरोध तत्काल अन्त्य हुने अवस्था नदेखिएको र संसद् कार्यसूची प्रभावित हुने क्रम जारी रहने संकेत देखिएको छ।







