चितवन । नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी घटनामा अपहृत १६ वर्षीय बालकको सकुशल उद्धार गर्दै भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ का १६ वर्षीय बालकलाई असार १ गते दिउँसो करिब ४ बजे अपहरण गरिएको थियो। त्यसपछि पीडितका बाबुको मोबाइलमा फोन गरी बालकलाई बन्धक बनाएको भन्दै २२ लाख रुपैयाँ फिरौती मागिएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा खोजतलास तीव्र बनाएको थियो। अनुसन्धानका क्रममा काठमाडौँस्थित एक होटेलबाट अपहृत बालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये अधिकांशको उमेर १८ देखि १९ वर्ष रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको गाडी तथा अन्य सामग्रीसमेत बरामद गरेको छ।
पक्राउ परेका सबैलाई अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।








