काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्दा इभि गाडी पुरिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् । बुधबार राति करिब २ बजे ढुङ्गा–माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभि गाडी पुरिएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वा म्याग्दीबाट सशस्त्र सहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो ।
उद्धार टोलीले गाडीभित्र रहेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन् । पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड खुलाउने प्रयास जारी रहेको छ ।







