काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएका ३८ वर्षीय ललित बहादुर तामाङ, काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी ३४ वर्षीया सन्तोषी लामा, काठमाडौँ चन्द्रागिरि नगरपालिका-८ बस्ने ४१ वर्षीय रामदास महर्जन र काठमाडौँ महानगरपालिका-१५ बस्ने २९ वर्षीय सरिब गिरी रहेका छन् ।
प्रहरीका अनुसार वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रुपैयाँ, ललित बहादुरले कोसोभो पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ, सन्तोषीले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रुपैयाँ, रामदासले युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ४५ लाख रुपैयाँ र सरिबले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रुपैयाँ लिई
सम्पर्कविहीन भएका थिए ।
सम्पर्कविहीन भएपछि पीडितहरू दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न ठाउँबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







