काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयकमा फरेन्सिक परीक्षणका प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबार बसेको बैठकमा विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले व्यक्तिको गोपनीयता संरक्षणलाई प्राथमिकतामा राख्दै फरेन्सिक रिपोर्टलाई सार्वजनिक पहुँच (पब्लिक डोमेन) मा राख्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
उनले फरेन्सिक परीक्षणसँग सम्बन्धित विवरण संवेदनशील प्रकृतिका हुने भएकाले व्यक्तिगत गोपनीयताको सुरक्षाका लागि प्रस्तावित प्रावधान संशोधन आवश्यक रहेको उल्लेख गरे ।
मन्त्री पुनले विधि विज्ञान प्रयोगशाला विधेयक वैज्ञानिक आधार, परीक्षणको विश्वसनीयता र गुणस्तरीय मापदण्ड सुनिश्चित गर्ने उद्देश्यसहित अघि बढाइएको स्पष्ट पारे ।







