काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वर्गीकरण प्रणालीलाई पुनरावलोकन गर्दै व्यवसायको आकार र प्रकृतिअनुसार विशिष्टीकृत बैंकिङ सेवाको अवधारणा अघि बढाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गर्ने योजना रहेको जानकारी दिएका हुन् ।
उनका अनुसार वित्तीय संस्थालाई उनीहरूको कार्यक्षेत्र, क्षमता र व्यवसायको प्रकृतिअनुसार व्यवस्थित गर्दै थप प्रभावकारी सेवा प्रवाहको वातावरण बनाइनेछ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार वा बन्द गर्ने सम्बन्धमा रहेको व्यवस्थालाई थप लचिलो बनाउने तयारी गरेको जनाएको छ । यसबाट संस्थाहरूले आवश्यकता र बजारको अवस्थाअनुसार आफ्नो सेवा संरचना व्यवस्थापन गर्न सक्ने अपेक्षा गरिएको छ ।
गभर्नर पौडेलले वित्तीय क्षेत्रलाई डिजिटल प्रविधितर्फ थप अग्रसर गराउने तथा बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाउने विषयलाई समेत मौद्रिक नीतिमा प्राथमिकता दिइएको बताए ।
राष्ट्र बैंकले वित्तीय प्रणालीलाई थप सक्षम, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित नीतिगत सुधार अघि बढाउने जनाएको छ ।







