काठमाडौँ । नेपाली काँग्रेसको नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरूले पार्टीको भावी राजनीतिक दिशाबारे अब थप अन्योल कायम नराख्न नेतृत्वलाई आग्रह गरेका छन्।
उनीहरूले पार्टी एकीकरणको प्रक्रिया अघि बढाउने वा त्यसो हुन नसके नयाँ राजनीतिक दल गठन गर्ने विषयमा समयमै स्पष्ट निर्णय आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।
मंगलबार दोस्रो दिनसम्म जारी १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकमा सहभागी नेताहरूले यस विषयमा आफ्ना धारणा राखेका थिए। बैठकका क्रममा पार्टीको आगामी रणनीति, संगठनात्मक अवस्था तथा राजनीतिक विकल्पबारे छलफल भएको जनाइएको छ।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता मीनबहादुर विश्वकर्माले पाँच जना नेताले बैठकमा धारणा प्रस्तुत गरेको जानकारी दिए। उनका अनुसार छलफलका क्रममा पार्टी एकतालाई प्राथमिकतामा राख्दै त्यसका सम्भावित उपायबारे विचार राखिएको थियो। साथै, एकीकरण सम्भव नभएको अवस्थामा पार्टीलाई वैकल्पिक ढंगले कसरी अघि बढाउने भन्ने विषय पनि उठाइएको उनले बताए।
विश्वकर्माका अनुसार बैठकमा बोल्ने सबै नेताले पार्टीभित्र एकता कायम हुनुपर्ने आवश्यकतामा जोड दिएका थिए। उनीहरूको साझा धारणा पार्टीको राजनीतिक भविष्यबारे शीघ्र निर्णय गर्दै संगठनलाई स्पष्ट दिशामा अघि बढाउनुपर्ने रहेको थियो।







