काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशंकर यादवले मधेश प्रदेशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अनियमित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले मधेशमा पुनः विद्युत् कटौतीको समस्या देखिन थालेको दाबी गरे। उनले आफू सोही दिन मधेश क्षेत्रबाट काठमाडौँ आएको उल्लेख गर्दै स्थानीय नागरिकहरूले विद्युत् अभावको समस्या भोगिरहेको बताएका हुन्।
उनले मधेश प्रदेशमा लामो समयदेखि बत्ती जाने समस्या दोहोरिँदै आएको भन्दै यसको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए।
सांसद यादवले आफ्नो गृह जिल्ला सिराहाका विभिन्न २८ स्थानमा आवश्यक ट्रान्सफर्मर जडान वा प्रतिस्थापन हुन नसकेको जानकारी दिँदै विद्युत् सेवा नियमित बनाउन तत्काल पहल गर्न माग गरे।
उनले आवश्यक उपकरण खरिदका लागि सरकारसँग स्रोत अभाव हो वा बजेट व्यवस्थापनमा समस्या छ भन्ने विषय संसद्लाई स्पष्ट जानकारी गराउनुपर्ने धारणा राखे। विद्युत् आपूर्तिमा देखिएको अवरोध हटाउन प्रभावकारी योजना र कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो।







