काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनलाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नभई समाज र राज्यको संवेदनशीलतासँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्।
उनले घटनाले समग्र नेपाली समाजलाई स्तब्ध बनाएको उल्लेख गर्दै एक नागरिकको जीवन, परिवारले भोगेको असह्य पीडा र मानवीय संवेदनाको पक्षलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
थापाले कठिन अवस्थामा रहेको गणेश नेपालीको परिवारलाई कसरी सहयोग र साथ दिन सकिन्छ भन्ने विषयमा केन्द्रित हुन सबैलाई आग्रह गरेका छन्। विगत वा वर्तमानमा कसको कमजोरी रह्यो भन्ने बहसभन्दा पनि यस्ता घटनाबाट राज्य सञ्चालन, सामाजिक अवस्था र नागरिकप्रतिको जिम्मेवारीबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उनको भनाइ छ।
उनले यस्ता घटनाले राज्य, समाज र नागरिक सबैलाई केही आधारभूत प्रश्नमाथि सोच्न बाध्य बनाएको बताएका छन्। एक युवाले किन चरम निराशाको अवस्था भोग्नुपर्छ, आफ्ना समस्या व्यक्त गर्न किन यति कठोर कदम चाल्नुपर्ने अवस्था आउँछ र राज्यका सेवा तथा संयन्त्रप्रति नागरिकले किन असहाय महसुस गर्छन् भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने उनले उल्लेख गरेका छन्।
थापाका अनुसार समाज, परिवार, राज्य र नागरिक तहबाट भएका कमजोरी पहिचान गरी भविष्यमा कुनै पनि व्यक्तिले यस्तो बाटो रोज्नुपर्ने अवस्था नआउने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको वास्तविक सम्मान हुनेछ।







