काठमाडौँ । कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका स्थायी संरचना हटाउने प्रक्रिया सोमबारदेखि सुरु गरिएको छ। अस्पताल परिसर आसपासका अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा बिहानैदेखि डोजर परिचालन गरी संरचना हटाउने काम अघि बढाइएको हो।
संरचना हटाउने कार्यका क्रममा कुनै अवरोध हुन नदिन उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अस्पताल प्रशासनका अनुसार अस्पतालको स्वामित्वमा रहेको जग्गा विभिन्न संघ–संस्थाले उपयोग गर्दै व्यावसायिक प्रयोजनका लागि भवन निर्माण गरेका थिए। ती संरचनामार्फत सटर तथा अन्य स्थान तेस्रो पक्षलाई भाडामा दिई आम्दानीसमेत हुँदै आएको थियो।
अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन्। तीमध्ये केही संस्थाले औषधि पसल, चिकित्सकलगायतलाई ३० भन्दा बढी सटर भाडामा सञ्चालन गर्न दिएको अस्पतालको भनाइ छ।
अस्पतालले आफ्नो दीर्घकालीन गुरुयोजना कार्यान्वयनका लागि ती संरचना हटाउन लामो समयदेखि पहल गर्दै आएको थियो। यसअघि पटक-पटक हटाउने प्रयास भए पनि कार्यान्वयन हुन सकेको थिएन।
गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले स्थलगत निरीक्षणका क्रममा अस्पतालको जग्गा खाली गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। त्यसपछि अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो। उक्त अवधिको म्याद सोमबार समाप्त भएपछि प्रशासनले डोजर परिचालन गरी संरचना हटाउने अभियान सुरु गरेको हो।







