काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र उद्यमशीलता विस्तारमा लघु, साना तथा मझौला उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।
सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीबार उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा सांसद श्रेष्ठले नेपालको अर्थतन्त्रमा लघु, साना तथा मझौला उद्योगको योगदान अत्यन्त ठूलो रहेको उल्लेख गर्दै राज्यका नीति तथा कार्यक्रमले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन्।
उनले ठूला उद्योगको योगदानलाई बेवास्ता गर्न नसकिने भए पनि सीमित पुँजीमा सञ्चालन हुने र ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने साना उद्यमको महत्व अझ बढी रहेको बताइन्। विशेष गरी ५ देखि ५० जनासम्मलाई रोजगारी उपलब्ध गराउने उद्यमीहरूको संख्या उल्लेखनीय रहेकाले उनीहरूलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो।
सांसद श्रेष्ठले सामाजिक सुरक्षा कोषको कार्यान्वयन पक्षबारे पनि प्रश्न उठाइन्। कोष स्थापनाको उद्देश्य सकारात्मक भए पनि श्रमिकलाई आकस्मिक स्वास्थ्य समस्या वा अन्य आवश्यकताका बेला सञ्चित रकम उपयोग गर्न सहज अवस्था छ कि छैन भन्ने विषयमा समीक्षा गर्नुपर्ने उनले बताइन्।
उनले रोजगारी सिर्जना, श्रमिक सुरक्षा र उद्यम विकासका लागि नीति निर्माण गर्दा व्यवहारिक पक्षलाई समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्।







