काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई दीर्घकालीन आवश्यकता र भविष्यका चुनौतीलाई ध्यानमा राखेर अघि बढाइने बताएका छन्।
चितवनस्थित भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले विधेयक सकेसम्म छिटो ल्याउने तयारी भइरहेको भए पनि पर्याप्त अध्ययनबिना हतारमा प्रक्रिया अघि नबढाइने स्पष्ट पारे।
सरकारका प्रवक्तासमेत रहेका उनले विद्यालय शिक्षा क्षेत्रलाई तत्काल देखिएका समस्यामा मात्र सीमित नगरी आगामी दशकका आवश्यकता, प्रविधिको विकास र कृत्रिम बौद्धिकता (एआई) लगायतका विषयलाई समेत समेटेर कानुनी व्यवस्था गर्नुपर्ने बताए।
उनका अनुसार प्रस्तावित विधेयकले लामो समयसम्म शिक्षा क्षेत्रलाई मार्गदर्शन गर्न सक्ने गरी तयारी गरिनुपर्ने भएकाले सबै पक्षको गहिरो अध्ययन आवश्यक रहेको छ।
मन्त्री पोखरेलले मुलुकभर लागू भइरहेको पाठ्यक्रम प्रणालीलाई समग्र रूपमा पुनरावलोकन र पुनर्संरचना गर्न सरकारले कार्यदल गठन गरी काम अघि बढाइरहेको जानकारी पनि दिए।







