काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आधारभूत समस्या र राष्ट्रियताका मुद्दाहरूलाई सशक्त रूपमा उठान गरेर पार्टीको लोकप्रियता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले देशभक्तिपूर्ण आन्दोलन र जन पक्षीय अडानका माध्यमबाट मात्र पार्टीको लोकप्रियता बढ्ने बताए । जनतासँग नङ र मासुको जस्तै सम्बन्ध कायम गर्दै उनीहरूका समस्या समाधानका लागि इमानदार प्रयास गरे मात्र एमाले पुनः जनताको बीचमा स्थापित हुनसक्ने जिकिर गरे ।
उनले पार्टी कार्यकर्ताहरूलाई जनताका पीर-मर्का बुझ्न र ती समस्या समाधानका निम्ति सक्रिय रहन समेत निर्देशन दिए । पार्टी पछिल्लो समय सूचना प्रविधिको प्रतिस्पर्धामा केही कमजोर देखिएको स्वीकार गर्दै अध्यक्ष ओलीले ‘आईटी वार’ मा पछाडि परेका कमजोरीहरूलाई सुधार्नुपर्ने आवश्यकता औँल्याए ।
ज्ञानको भण्डार अथाह रहेको र कुनैपनि कुरा सिक्न असम्भव नरहेको उल्लेख गर्दै उहाँले नेता तथा कार्यकर्ताहरूलाई आधुनिक प्रविधिको प्रयोगमा अभ्यस्त हुन आग्रह गरे ।
अध्यक्ष ओलीले विज्ञहरूको परामर्श, पुस्तक, पुस्तकालयका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र च्याट जीपीटी जस्ता आधुनिक प्रविधिहरूको उच्चतम प्रयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिए। उपलब्ध स्रोत र सञ्चार माध्यमहरूको सही सदुपयोग गर्दै पार्टीको विचार र कार्यदिशालाई आम जनतामाझ पुर्याउन उनले आह्वान गरेका छन्।







