काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनकुटा जिल्लामा पार्टी एकता प्रक्रियालाई टुङ्ग्याउँदै २५१ सदस्यीय जिल्ला समिति गठन गरेको छ। पार्टी स्थापना भएको करिब नौ महिनापछि जिल्ला तहमा संगठनात्मक एकता औपचारिक रूपमा सम्पन्न भएको हो।
गत वर्ष कात्तिक १९ गते तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न वामपन्थी दलहरूको एकीकरणबाट नेकपा गठन भएको थियो। त्यसयता केन्द्र र प्रदेश तहमा संगठनात्मक संरचना निर्माण भइसकेपछि धनकुटामा पनि जिल्ला तहको एकता प्रक्रिया पूरा गरिएको हो।
जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रममार्फत सार्वजनिक गरिएको नयाँ समितिको संयोजकमा कुसुमकुमारी श्रेष्ठ चयन भएकी छन्। सह संयोजकको जिम्मेवारी डिप्लव राई, हेमचन्द्र किराँती र ओमप्रकाश निरौलाले पाएका छन्।
पार्टीका अनुसार जिल्ला समितिलाई पूर्णता दिएसँगै स्थानीय तहसम्म संगठन विस्तार, जनपरिचालनलाई प्रभावकारी बनाउने तथा संगठनात्मक संरचनालाई थप सुदृढ गर्ने लक्ष्यसहित आगामी गतिविधि सञ्चालन गरिनेछ। जिल्ला संयोजक श्रेष्ठले लामो समयदेखि बाँकी रहेको एकता प्रक्रियाले अब औपचारिक रूप पाएको बताएकी छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेश सरकारको नेतृत्व अब नेकपाले पाउनुपर्ने धारणा व्यक्त गरे। काँग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गरिसकेको उल्लेख गर्दै उनले प्रदेश सरकारको नेतृत्व गर्ने अवस्था अहिले नेकपाका लागि बनेको दाबी गरे।
राईले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्मअनुसार शासन सञ्चालन हुन नसकेको आरोपसमेत लगाए। उनले राज्य सञ्चालनको अधिकार अत्यधिक रूपमा केन्द्रमा केन्द्रित हुँदै गएको उल्लेख गर्दै संघीय व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनीहरूको भूमिकालाई सीमित गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे।
जिल्ला एकता तथा प्रशिक्षण कार्यक्रममा प्रदेश सहइन्चार्ज पर्शुराम बस्नेत, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेल, सहइन्चार्ज विष्णुमाया कन्दङ्वा, आरती बास्तोला लगायतका नेताहरू सहभागी भएको नेकपा कोशी प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतले जानकारी दिइन्।
पार्टीका अनुसार नवगठित जिल्ला समितिले अब स्थानीय तहसम्म संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण तथा जनआधारित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने योजना बनाएको छ।







