काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहितका प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगले सार्वजनिक सम्पत्तिमा हानि/नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरेको थियो।
आयोगले उक्त प्रकरणमा १३ लाख ९३ हजार ६०३ रुपैयाँ ३ पैसा बिगो कायम गरी सोही बराबर जरिवाना, कैद तथा बिगो असुलउपरको मागसहित विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको थियो।
तर, विशेष अदालतले २०८३ साल असार २ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो।
उक्त फैसला चित्तबुझ्दो नभएको निष्कर्ष निकाल्दै अख्तियारले २०८३ साउन ४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।







