काठमाडौँ । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३० लाख रुपैयाँ बरामद भएपछि गरिएको थप अनुसन्धानका क्रममा गौरस्थित एक व्यापारिक प्रतिष्ठानबाट समेत रकम फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो ईशनाथ नगरपालिका-४, महुलियास्थित काली मन्दिर नजिकै सवारीसाधन जाँच गर्ने क्रममा ठूलो परिमाणमा नगद बरामद भएको थियो।
प्रहरी चौकी मठियाबाट खटिएको टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा झोला तथा मोटरसाइकलको ट्यांकीमुनि बनाइएको गोप्य भाग (फल्स बटम) मा लुकाइएको अवस्थामा ३० लाख रुपैयाँ फेला पारेको हो। प्रहरीले एउटा स्मार्टफोनसमेत बरामद गरेको जनाएको छ।
उक्त रकमसहित भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया-१३ का ३० वर्षीय सनि कुमार जैसवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा प्रहरीले गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा थप अनुसन्धान गर्दा १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको हो।
दुवै स्थानबाट गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ। घटनामा संलग्न रहेको आरोपमा एक व्यापारीसमेत पक्राउ परेका छन्।
बरामद रकमको वैध स्रोत तथा कारोबारको प्रकृतिबारे थप अनुसन्धानबाट स्पष्ट हुने अपेक्षा गरिएको छ।





