काठमाडौँ । भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता तथा लोकसभाका प्रतिपक्षी नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास क्षेत्र नजिकै प्रदर्शन गर्ने क्रममा गान्धीसहित काँग्रेसका केही शीर्ष नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
काँग्रेसका सांसदहरूले मंगलबार दिउँसो दिल्लीस्थित लोक कल्याण मार्गमा रहेको प्रधानमन्त्री निवास बाहिर पुगेर धर्ना सुरु गरेका थिए। प्रदर्शनकारीहरूले शिक्षासम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री मोदी र शिक्षामन्त्री प्रधानले जिम्मेवारी लिनुपर्ने माग अघि सारेका थिए।
प्रदर्शनका क्रममा राहुल गान्धीसँगै काँग्रेस नेतृ प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएर संसद मार्गस्थित प्रहरी कार्यालय पुर्याएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसअघि प्रधानमन्त्री निवास क्षेत्र नजिकै भइरहेको प्रदर्शन स्थलमा पुगेका केन्द्रीय मन्त्री जितेन्द्र सिंहले काँग्रेस नेताहरूसँग भेट गरेका थिए। भेटपछि उनले सामाजिक सञ्जालमार्फत राहुल गान्धीले यसअघि व्यक्त गरेका प्रतिबद्धताबाट पछि हटेको आरोप लगाएका छन्।
काँग्रेस पक्षले प्रधानमन्त्री मोदी स्वयं प्रदर्शन स्थलमा आएर उठाइएका प्रश्नको जवाफ दिनुपर्ने माग राखेको थियो। त्यसपछि लोक कल्याण मार्ग क्षेत्रको अवस्था तनावपूर्ण बनेको बताइएको छ।
प्रधानमन्त्री निवास क्षेत्र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रदर्शन नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ।







