काठमाडौँ । काठमाडौँ उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०-८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१र८२ मा सात हजार १६९ र आव २०८२-८३ मा पाँच हजार ८०३ रहेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको बताए ।
“दुर्घटना हुनु आफैँमा दुखद् हो तर सडक नियमको पालना आफ्नै सुरक्षाको लागि हो भन्ने महसुस सबै सडक प्रयोग कर्ताहरूले गर्नुभयो भने नतिजा सकारात्मक नै आउँछ । त्यसैले ट्राफिक नियमको पालनाप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्दछ”, उनले भने ।
उनका अनुसार वर्षभरिका दुर्घटनाको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना गत शुक्रबार भएको देखिएको छ ।
“शुक्रबार एक हजार १०३ वटा दुर्घटना भएका छन् । त्यसैगरी सबैभन्दा कम दुर्घटना बुधबार भएको छ, जहाँ ६४५ वटा दुर्घटना भएका छन्”, सुवेदीले भने । ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदल यात्री दुवैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएको छ ।







