काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका छन् ।
पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै नेपालले कम्युनिष्ट आन्दोलनलाई प्रभावकारी बनाउन विगतका काम, नीति र व्यवहारको समीक्षा आवश्यक रहेको धारणा राखेका हुन् ।
उनले राजनीतिक समस्याका लागि अरूमाथि मात्र दोष थोपर्नुभन्दा वामपन्थी शक्तिहरूले आफ्ना निर्णय, कार्यशैली र जनतासँगको सम्बन्धमा देखिएका कमजोरी पहिचान गर्नुपर्ने बताए ।
सहसंयोजक नेपालले सत्तामा पुगेपछि बाह्य दबाबअनुसार अघि बढ्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाएका छन् । राष्ट्रिय हितलाई प्रभावित पार्ने विषयमा बाह्य शक्तिलाई सन्तुष्ट पार्ने उद्देश्यले निर्णय लिन नहुने उनको भनाइ थियो ।
उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशामा अघि बढाउन अतिवादी सोच र आत्मसमर्पणवादी प्रवृत्ति दुवैबाट टाढा रहनुपर्ने बताए । देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।






