काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
शुक्रबार जारी एक भिडियो सन्देशमा उनले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधता भए पनि आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको मुलुक भएको उल्लेख गरेका छन् । विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको उनको भनाइ छ ।
‘धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताबीच पनि हामी आपसी सम्मान, सहिष्णुता र सम्मानका साथ सँगै बाँच्दै आएका छौं,’ उनले प्रहरी प्रमुख कार्कीले भनेका छन्, ‘विविधतामा एकता नै हाम्रो पहिचान, शान र शक्ति हो ।’
उनले धर्म, संस्कार र संस्कृति फरक भए पनि मुलुक र साझा भावना एउटै भएकाले एक अर्काको संस्कृति, संस्कार र आस्थाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
आईजीपी कार्कीले सामाजिक एकतामा असर पुग्ने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुन उल्लंघन गर्ने कार्य कसैको पनि हितमा नहुने बताएका छन्। विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले यस संवेदनशील घडीमा संयमता, सहिष्णुता र आपसी सम्मानका साथ एक अर्काको संस्कृति, संस्कार तथा आस्थाको सम्मान गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सम्पूर्ण नेपालीमा अपिल गरेका छन्।






