काठमाडौँ । सडक विभागका महानिर्देशक डा.विजय जैसीले देशभरका सडक विस्तार तथा स्तरोन्नति आयोजनाहरूमा विद्युत् पोल स्थानान्तरण मुख्य वाधक बनेको बताएका छन् ।
शुक्रवार संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै महानिर्देशक जैसीले विद्युत् प्राधिकरणसँगको समन्वय अभाव र पोल सार्न हुने ढिलाइले विकास निर्माणमा गम्भीर असर परेको जानकारी दिएका हुन् ।
महानिर्देशक जैसीकाअनुसार सडकको सीमा (राइट अफ वे)भित्र पोल गाड्न सडक विभागले सहजीकरण गरे पनि सडक विस्तारका क्रममा ती पोल हटाउन विद्युत् प्राधिकरणबाट अपेक्षित सहयोग र तदारुकता देखिएको छैन ।
आयोजनाहरूमा हुने ढिलाइका कारण राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको उनले स्पष्ट पारे। उनले विद्युत् प्राधिकरण र सडक विभागबीच अहिले मन्त्रालयगत तवरमा समन्वय भइरहेको र समस्या समाधानका लागि प्रयास भइरहेको बताए ।
पोल गाड्ने र तार उपलब्ध गराउने प्रक्रियामा प्राधिकरणको तर्फबाट हुने ढिलाइले गर्दा आयोजनाहरू प्रभावित भइरहेको उनको भनाइ छ । उनले एउटै निर्माण व्यवसायीले धेरै ठाउँमा ठेक्का लिने र जनशक्ति अभाव देखाउने प्रवृत्तिले पनि काममा ढिलाइ भएको उल्लेख गरे ।
उनले नागढुङ्गा–मुग्लिङ सडक खण्डको उदाहरण दिँदै भने, ‘पाँच वर्षदेखि पोल सार्ने प्रयास भइरहेको छ तर अझै १८२ वटा पोल सार्न बाँकी छ । पोल नसारिँदा निर्माण व्यवसायीले काम ढिला गर्ने बहाना पाएका छन् भने कतिपय ठाउँमा पोल बीचमा राखेरै पिच गर्नुपर्ने अवस्था सिर्जना भएको छ । समयमै पोल नसार्दा निर्माण व्यवसायीले क्षतिपूर्ति दाबी गर्छन्, जसले गर्दा राज्यले अनावश्यक रूपमा करोडौँ रुपैयाँ भुक्तानी गर्नुपर्ने अवस्था छ ।’
सडकको पछिल्लो अवस्थाबारे जानकारी दिँदै महानिर्देशक जैसीले नारायणघाट–बुटवल, मुग्लिङ–पोखरा र सूर्यविनायक–धुलिखेल जस्ता महत्त्वपूर्ण सडक खण्डहरू अहिले सम्पन्न हुने चरणमा पुगेको बताए। पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर ब्रिज’ नेपाली प्राविधिकहरूकै डिजाइन र नेतृत्वमा पहिलो पटक नयाँ प्रविधि (एक्स्ट्राडोज) बाट निर्माण भइरहेकाले केही समय लागे पनि काम सन्तोषजनक ढंगले अघि बढिरहेको उनले जानकारी दिए ।
सडक विस्तारमा हुने ढिलाइले सर्वसाधारणले धुलो र हिलोको सास्ती खेप्नुपरेको प्रति विभाग गम्भीर रहेको र सबै अवरोध हटाएर कामलाई तीव्रता दिने प्रतिबद्धता उनले व्यक्त गरे ।






